हाम्रो बारे

विश्वका विभिन्न मुलुकहरुमा योजनाबद्ध विकास शैलीले सुनिश्चित गरेको परिणामलाई मध्यनजर गरी नेपालमा २० औं शताव्दीको मध्यसमयदेखि केन्द्रीकृत राष्ट्रिय विकास रणनीति अवलम्बन गर्न थालियो । विकास क्रियाकलापको शुरुवातका साथै सहजीकरणका लागि विभिन्न संस्थागत संयन्त्रको सिर्जना गर्ने क्रममा वि.सं २०२८ सालमा तत्कालीन गृह एवं पञ्चायत मन्त्रालय अन्तर्गत स्थानीय विकास विभाग स्थापना गरिएको थियो । मुलुकको राजनैतिक, आर्थिक वातावरणमा आएको समयानुकूल परिवर्तनसँगै स्थानीय विकाससँग सम्बन्धित सरकारी संयन्त्रहरुको नाम तथा संरचनात्मक स्वरुपमा परिवर्तन गर्ने कार्य हुन थाल्यो । फलस्वरुप वि.सं २०३७ सालमा स्थानीय विकास मन्त्रालयको स्थापना गरी नेपालको समग्र स्थानीय शासन, विकास र सेवा प्रवाहका लागि केन्द्रबाट नेतृत्वदायी महत्वपूर्ण भूमिका निर्वाह हुँदै आयो । यसैक्रममा वि.सं. २०६२/०६३ सालमा भएको राजनीतिक परिवर्तनसँगै मन्त्रालयमा सङ्घीय मामिलाको कार्यक्षेत्र समावेश गरिंदा यस मन्त्रालयको विगतको संरचनामा संघीय मामिला सम्बन्धी कार्यको जिम्मेवारी समेत पर्न आयो । यसरी मुलुकको वृहत् कार्यक्षेत्र ओगटेको यस मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नका लागि मन्त्रालय मातहत तीन तहको संरचनात्मक ढाँचा निर्माण गरिएको र सो अन्तर्गत हाल ७५ जिल्ला विकास समिति, १९१ नगरपालिका र ३,२७६ वटा गाउँ विकास समितिहरु मुलुकभर कार्यरत रहिआएका छन् ।

थप विवरण